चाँगुनारायण नगरपालिकाः ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य

चाँगुनारायण नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूले समृद्ध एक महत्वपूर्ण गन्तव्य हो। नगरकोट क्षेत्र हिमाल दृश्यावलोकन, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन तथा कृषि पर्यटनका लागि विशेष रूपमा प्रसिद्ध छ।

changunarayan-temple

बागमती प्रदेशको भक्तपुर जिल्लामा अवस्थित चाँगुनारायण नगरपालिका मुलुककै पहिलो हिल स्टेशन नगरकोटलाई समेत समेट्ने ऐतिहासिक, धार्मिक, तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो। नेपाल सरकारको २०७३ साल फागुन २७ गतेको निर्णयअनुसार साविकका चाँगुनारायण र नगरकोट नगरपालिकालाई गाभेर यो नगरपालिका गठन गरिएको हो। लिच्छवीकालीन सम्पदा, धार्मिक तथा सांस्कृतिक विशेषता बोकेको यो नगरपालिका हाल ९ वडामा विभाजन गरिएको छ। विशेष गरी पर्यटकीय तथा हिमाल अवलोकनका लागि नगरकोट क्षेत्र अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ। यस नगरपालिकाभित्र विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर अवस्थित छ। साथै, बाल्मिकेश्वर, बागेश्वर धाम, बागेहिटी, मच्छेनारायण, महाङ्काल मन्दिर, ज्योतिलिङ्गेश्वर, महादेव पोखरी, रत्नचुडेश्वर महादेव, महामञ्जुश्री गुम्बा, कालिका मन्दिर, जाल्पादेवी मन्दिर, ब्रम्हायणी मन्दिर, सरस्वतीस्थान, चट्टान अभिलेख, भंगेरी दरबार, पुतली दरबार लगायतका पुरातात्विक, धार्मिक तथा ऐतिहासिक स्थलहरूले नगरलाई अझ महत्वपूर्ण बनाएका छन्।

चाँगुनारायण नगरपालिका कृषि तथा पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यसहित अगाडि बढिरहेको छ। नगरकोट क्षेत्रमा करिब ४० वटा रिसोर्ट तथा होटलहरू छन्, जसले पर्यटकहरूलाई उत्कृष्ट आतिथ्य सेवा प्रदान गर्छन्। यहाँबाट सुर्योदय तथा सूर्यास्तको अनुपम दृश्यावलोकन गर्न सकिन्छ। विश्वको सर्वोच्च शिखर सगरमाथासहित गणेश, लाङटाङ, गौरीशंकर, चोयू, मकालु, जुगल, दोर्जे लाक्पा, सिसिपाङ, पुर्वी धोचु जस्ता हिमशृङ्खलाका मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ। साथै, विभिन्न चराचुरुङ्गी तथा वन्यजन्तुहरूको बासस्थान रहेको यस क्षेत्रबाट काठमाडौं उपत्यका, बनेपा, मण्डनदेउपुर र शंखरापुर नगरपालिकाका सुन्दर बस्ती तथा खेतबारीहरूको दृश्यावलोकन गर्न सकिन्छ। नगरकोट मात्र सुर्योदय तथा सूर्यास्त हेर्ने स्थान मात्र नभएर ऐतिहासिक तथा धार्मिक दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो। महादेव पोखरी, महामञ्जुश्री गुफा, पृथ्वीनारायण शाहको उपत्यका विजय यात्रासँग सम्बन्धित स्थलहरू, चन्द्रशमशेरले निर्माण गराएका दरबारहरू तथा नेपालका लागि प्रमुख नाप-नक्सा बेन्चमार्क रहेको क्षेत्रका रूपमा नगरकोट विशेष छ। पर्यटकहरूले यहाँ जीपलाइन, प्याराग्लाइडिङ, साइकलिङ जस्ता साहसिक गतिविधिहरूको समेत मजा लिन सक्छन्। मुहानपोखरी झरना, रानीझूला पुल, बोझिनी ड्याम, प्राकृतिक घना जंगल आदि मनोरञ्जनात्मक स्थलहरू नगरकोटको पर्यटकीय महत्त्वलाई अझ बढाउँछन्।