दुलही भित्र्याइसकेर थांब्व खुवाइसकेपछि सजंबुजंको तयारी गरिन्छ । यस क्रममा दुलहा,दुलही, लमि, दुलहीको मामा र सुकुना बोक्ने मिलाः* गरी ५ जना विशेष भोज खुवाइन्छ । जसलाई सजंबुजंभ्वय् भनिन्छ ।
सजंबुजंब्व तयार गर्ने विधि
लप्तेको बीचमा दुई मुट्ठी बजि राखेर यसको अघिल्तिर माय्वः, लापिवः र खँवः लाई क्रमशः एक अर्को माथि खप्ट्याएर राखिन्छ । यसको दायाँतिर क्रमशः फःसि, पालुकक, तुइजु, साखः, घ्यो र ६ थोप्ला पंला राखिन्छ । यसमा एकपछि अर्को गरी लहरै वा पालुककलाई बाहिरतिर र तुइजुलाई भित्रतिर, साखःलाई बाहिर तिर घ्योलाई भित्रतिर पर्ने गरी पालुकक र तुइजु तथा घ्यो र साखः लाई जोडी जोडी बनाएर पनि सजाउन सकिन्छ । यसपछि माय्वःको बायाँतिर क्रमशः वाउँचा, कमुघासा, खपिचपि, म्ये, नुगः, भ्वर, आति, नलू, क्वें सजाइन्छ । यसै लहरको अन्तिममा बजिको बायाँतिर तःखा राखिन्छ । अन्तमा वः र बजिको बीचमा ग्वःखें एवम् खपिचपि र बजिको बीचमा गोलमा राखेर ब्व तयार पारिन्छ । यदि बलि पूजा गरिएको छ भने वाउँचा र बजिको बीचमा मूला पनि राख्ने गरिन्छ । यसरी तयार भएको ब्वको अघिल्तिर अय्लाः ले भरिएको सलि राखेपछि सजंबुजं तयार हुन्छ ।